सांसदबाट राजीनामा घोषणा गरेका मल्लले प्रदेशसभाबाट सेवासुविधा लिदै
धनगढी ७ असार । सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले गत वैशाख १५ गते पदबाट राजीनामा दिने घोषणा गरेका थिए। नेपाली काँग्रेसले पार्टीबाट निष्कासन गरेपछि मल्लले डडेल्धुरामा पत्रकार सम्मेलन गर्दै आफू प्रदेशसभा सांसद नरहेको घोषणा समेत गरेका थिए।
तर, मल्लले प्रदेश सभा सदस्यको हैसियतमा मासिक रुपमा सरकारी सेवा सुविधा बुझिरहेको पाइएको छ। उनले प्रदेशसभा सचिवालयमा राजीनामा नदिएका कारण सेवा सुविधा पाइरहेका हुन्।
मल्लले राजिनामा दिएको जानकारी प्राप्त नभएका कारण प्रदेश सभा सदस्यको हैसियतमा कानून बमोजिम पाउने सेवासुविधा उपलब्ध गराइरहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले बताए। मल्लको खातामा मासिक रुपमा पाउने तलब भत्ता, अतिथि सत्कार, आवास सुविधाबापतको रकम सचिवालयले जम्मा गर्दै आएको छ।
मल्लले केहीदिन अघि मात्रै इमेलमार्फत प्रदेशसभा सदस्यबाट राजीनामा दिएको पत्र प्रदेशसभा सचिवालयलाई पठाएका छन्। सोे पत्र सभामुख अर्जुनबहादुर थापाले प्रदेशसभा बैठकमा पढेर सुनाएपछि मात्र उनी पदमुक्त हुनेछन्।