बैतडी पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा 

असार ७ बैतडी । बैतडीलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । सोमबार एक आयोजित कार्यक्रमका साथ बैतडीलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।

उक्त जिल्लामा १० वटा स्थानीय तह रहेका छन । खोप पाउने उमेर समूहका बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार खोप पाइसकोले जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिएका हुन । उक्त घोषणाका लागि १६ देखि २३ महिना सम्मका सम्पूर्ण बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार खोप पाइसकेको हुनुपर्दछ । बैतडीमा १६ देखि २३ महिना उमेरका चार हजार २६८ बालबालिका रहेका छन् ।

उक्त जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्नका लागि सबै पालिकालाई पूर्ण खोप सुनिश्चितता गरिसकेको हुनुपर्दछ । पालिकाले पूर्ण खोप सुनिश्चितता घोषणापश्चात् स्वास्थ्य कार्यालयले प्रमाणीकरणका लागि घरधुरी सर्वेक्षणसमेत गर्ने गर्दछ ।

उक्त जिल्लामा १६ देखि २३ महिनासम्मका बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार खोप पाए/नपाएको अनुगमन गर्न घरधुरी सर्वेक्षण गरिएको थियो । प्रत्येक स्थानीय तहका तीन/तीन वटा वडामा घर धुरी सर्वेक्षणमा एक वडाका कम्तीमा १५ घरमा सर्वेक्षण गरिएको थियो । यी सबै कार्य पूरा भइसकेकाले सोमबार पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.