सुदूरपश्चिममाथि प्रदेश २ को रोमाञ्चक जित, अर्को खेलमा कर्णाली ७६ रनले पराजित
वाई–वाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामासुदूरपश्चिममाथि प्रदेश २ ले रोमाञ्चक जित हात पारेको छ। सुदूरपश्चिमले दिएको २९१ रनको लक्ष्य प्रदेश २ ले ५ बल बाँकी छदा २ विकेट गुमाएर जित हात पारेको हो। प्रदेश २ का लागि अदिल अन्सारीले अविजित ८७ रन जोडे। उनले ४३ बलमा ७ चौका र ६ छक्का प्रहार गरे।
यता, अमित यादवले ४९ र गुल्शन झाले ४६ रनको योगदान गरे। बलिङमा सुदूरपश्चिमका शेर मल्ल र नरेन्द्र साउदले ३–३ विकेट लिए।
त्यसअघि कीर्तिपूरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ४१।४ ओभरमा २९० रन जोड्यो।
सुदूरपश्चिमका लागि अर्जुन साउदले शतक प्रहार गरे। ११६ रन बनाएका उनले ८५ बलमा १४ चौका र ५ छक्का प्रहार गरे। उनी जारी प्रतियोगितामा शतक प्रहार गर्ने पहिलो खेलाडी हुन्।
यता, लोकेश बमले ७३ बलमा १३ चौका र १ छक्कासहित ८१ रनको योगदान दिए। बलिङमा प्रदेश २ का प्रदिप पासवानले ३ विकेट लिए।
कर्णालीमाथि प्रदेश १ को ७६ रनको जित
आजै मुलपानीमा भएको खेलमा कर्णाली प्रदेशमाथि प्रदेश १ ले ७६ रनको जित निकालेको छ।२४० रनको लक्ष्य पछ्याएको कर्णालीले ३८ ओभरमा १६३ रनमा अलआउट भयो। कर्णालीका लागि रुपक दाहालले अविजित ४१ रन जोडे। मनिस थापाले ३९ रनको योगदान दिए।कर्णालीलाई सस्तैमा समेट्न प्रदेश १ का श्रवण किस्कुले सर्वाधिक ४ विकेट लिए। लभ कामतले ३, गौरव कटुवालले २ र दिपेश कँडेलले १ विकेट हात पारे।
त्यसअघि पहिले ब्याटिङ गरेको प्रदेश १ ले ५० ओभरमा अलआउट हुँदै २३९ रन बनाएको थियो। प्रदेश १ का लागि विवेक मेहताले ५९ रन जोडे। ८२ बल खेल्दा मेहताले ५ चौका र २ छक्का प्रहार गरे ।अंकित सुवेदीले ३७, सोनु मण्डलले २५, सोनी अन्सारीले २४ तथा दिपक जोशीले २३ रन जोडे ।
बलिङमा कर्णालीका अनुज चुनारा, रुपक दाहाल र सन्दीप शाहीले २–२ विकेट लिए। प्रकाश जैसी र सुवास ऐयरले एक–एक विकेट लिए ।