मृतक शाहीको शव आजै उठाईने
धनगढी–अछामको पञ्चदेवल विनायक नगरपालिका ४ कालिकास्थान, कुच्चीका १७ वर्षीय विनोद शाहीको शव आज उठाइने भएको छ। जिल्ला प्रशासन कार्यालय अछामले केहीबेरमा कानुनी प्रक्रिया पूरा गरी शव उठाइने जनाएको छ।
जेठ १७ गतेदेखि बेपत्ता भएका शाही शनिबार बिहान मृत फेला परेका थिए। उनको शव कुच्ची भिरमा फेला परेको थियो। त्यसलगत्तै एमाले कार्यकर्ताहरूले कांग्रेसका कार्यकर्ताले विनोदको हत्या गरेको आरोप लगाउँदै प्रहरीलाई घटनास्थल जान रोकेका थिए। सोहीक्रममा तनावग्रस्त बनेको विनायक क्षेत्रमा स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रु ग्याससमेत प्रहार गरेको थियो।
हिजो अबेर प्रदर्शनकारी एमाले कार्यकर्ता एवम् स्थानीयसँगको सहमतिपछि आज घटनास्थलमा तालिम प्राप्त कुकुरसहित सिआइबी र प्रहरी पुगेको अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले जानकारी दिए। घटनाको छानविनका लागि डिएसपी मनोहर प्रसाद भट्टको नेतृत्वमा ६ सदस्यीय टोली खटाइएको छ। स्थानीय निर्वाचनअन्तर्गत ३० गते मतदानका दिन भएको विवाद लम्बिँदा यस घटनाले पनि राजनीतिक रूप लिएको छ।