आज विश्व दूध दिवस
धनगढी:दीर्घ जीवन, गुणस्तरीय दूध तथा दुग्ध पदार्थको सेवन भन्ने नाराका साथ आज विश्व दूध दिवस मनाइँदैछ ।
राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा आज विभिन्न कार्यक्रम हुँदैछन् । आमनागरिकलाई दूधको उपभोगमा वृद्धि गर्न चेतना फैलाउने उद्देश्यले विश्व दूध दिवस मनाउन थालिएको हो । विश्वका धेरै देशमा सन् २००१ देखि नै दिवस मनाउन थालिए पनि नेपालमा भने सन् २०११ देखि मात्रै मनाउन थालिएको हो ।
संयुक्त राष्ट्र सङ्घ कृषि तथा खाद्य सङ्गठन एफएओको मापदण्ड अनुसार स्वच्छ रहन प्रतिव्यक्ति प्रतिवर्ष कम्तीमा ९१ लिटर दूध उपभोग गर्नुपर्छ । नेपालमा यो दर ७८ लिटर मात्रै छ । नेपालमा वार्षिक २४ लाख मेट्रिक टन दूध उत्पादन हुन्छ ।
प्रतिव्यक्ति प्रतिवर्ष १३ लिटर दूध अभाव छ । नेपाललाई २०८० सालसम्ममा दूधमा आत्मनिर्भर बनाउने सरकारको लक्ष्य छ । चालु आर्थिक वर्ष २०७८र७९ को बजेटमा नेपाललाई दुई वर्षभित्र दूधमा आत्मनिर्भर बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो । तर अर्को वर्ष आत्मनिर्भर हुन चुनौती छ ।