तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो
१६ जेठ, काठमाडौं । हिजोदेखि बेपत्ता तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । नेपाली सेनाका प्रवक्ता नारायण सिलवालका अनुसार ल्याङखु खोलाको मुहान नजिकको पहाडमा ठोक्किएर टुक्रा–टुक्रा भएको अवस्थामा जहाज फेला परेको छ । ‘स्थानीय शेर्पाहरुले दुर्घटनाग्रस्त अवस्थामा जहाज फेला पारेका छन्,’ नेपाली सेनाका प्रवक्ता सिलवालले अनलाइनखबरसँग भने, ‘त्यहाँसम्म हाम्रो टोली पुग्ने प्रयासमा छ ।’ हिजो बिहान पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको नाइन एन एईटी कल साइन भएको ट्वीनअटर जहाज सम्पर्कविहीन भएको थियो । सो जहाजमा चालक दलका ३ सदस्यसहित २२ जना सवार थिए ।